Mar 3rd, 2023
बुटवल, न्यू होराईजन आवासिय मा.वि., कालिकानगर कक्षा ११ का विद्यार्थीले ‘स्वचालित सिँचाइ प्रणाली’ (अटो इरिगेसन सिस्टम) प्रविधि विकास गरेका छन्।
यसले माटोमा आवश्यक पानीको मात्रा पहिचान गरी आवश्यकताअनुसार पानी स्वतः सिँचाई गर्ने र पुगेपछि आफैं बन्द गर्छ।
उनीहरूले विकास गरेको स्वचालित सिँचाइ प्रणालीमा स्विच, मोटर, ब्याट्री, अर्डिनो र अन्य कम्पोनेन्ट छन्। माटोको सुक्खापन पत्ता लगाउने ‘सेन्सर’ ले इन्जिनलाई सुक्खा हुँदा सक्रिय बनाउँछ र आवश्यकताअनुसार पानी माटोलाई प्रदान गर्ने काम गर्छ।
बिरुवा लगाएको एक किनारमा पानीको ड्रम वा ट्यांकी राख्नुपर्छ। त्यसपछि पानीको ट्यांकीमा पाइप र मोटर लगाउनुपर्छ। त्यसपछि ट्यांकीबाट एउटा पाइप निकालेर बिरुवासम्म पुर्याइन्छ।
त्यसपछि यसको सेन्सर मेसिन बाली लगाएको जमिनमा माटोमा गाडेर राखिएको हुन्छ। जसले माटोको सुक्खापन कति छ भनेर जाँच गर्छ। अनि, पानी कम छ भने सेन्सरले त्यसबारे जानकारी राख्छ र मेसिन सक्रिय हुन्छ। जसले ट्यांकीको पानी आफैं तानिएर बारीमा सिँचाइ हुन्छ। त्यसपछि पानीको मात्रा पुगेपछि आफैं बन्द हुन्छ।
यसको प्रयोग धेरै बालीनाली लगाएको स्थानदेखि घरको भान्छा, बगैंचामा समेत प्रयोग गर्न सकिन्छ। यदि कोही आफ्नो घर छाडेर केही दिनका लागि बाहिर जानु छ भने आफ्ना बगैंचाका फूल र बिरुवा मर्ने चिन्ताले सताउनु स्वाभाविक हो।तर, यो प्रविधि जडान गरेको खण्डमा आवश्यकताबमोजिम पानी आफैं लाग्ने भएकाले चिन्ता लिइरहनुपर्दैन।
त्यस्तै कतिपय किसानका खेतबारी आफ्नो घरबाट निकै टाढा हुन्छ। व्यवस्तताका कारण समयमा पानी लगाउन जान भ्याइँदैन। त्यस्ता किसानलाई पनि यो निकै उपयोगी हुनेछ । यो मेसिन जडान गरेर ट्यांकीमा पानी राखेपछि बिरुवामा पानी लगाउन बारम्बार धाउनुपर्ने बाध्यता हटेर जान्छ। उनीहरूले पनि यसैलाई र किसानका यस्तै प्रकारका समस्या मध्यनजर गरी यो प्रणाली विकास गरेका हुन्।
‘किसानका लागि यो निकै लाभदायक हुन्छ। हामीले हाम्रो घरको बगैंचामा पनि यसलाई प्रयोेग गर्न सक्छौं,’ विद्यार्थी ले भनिन्, ‘यदि दुई–तीन दिनका लागि हामी बाहिर गएका छौं र घरमा कोही छैन भने बिरुवा मर्छ भन्ने हामीलाई पीर हुन्छ तर यो सेन्सर आफैंले आवश्यकअनुसार पानी दिने हुनाले हामी धेरै दिनलाई बाहिर गएको खण्डमा पनि बिरुवा मर्ला भन्ने चिन्ता लिनुपर्दैन।’
उनले यही विशेषता भएका कारण सानो बगैंचादेखि व्यावसायिक खेतीबाली गर्नेलाई समेत उपयोगी भएको बताइन्।नेपाल कृषिप्रधान देश भएका कारण यो प्रविधि निकै उपयोगी हुने अर्की विद्यार्थी सुवासना बम बताउँछिन्।
‘हामीले ड्रममा यो मेसिन जडान गरेपछि माटोमा पानी अभाव भयो भने स्वतः ड्रमको पानी विरुवासम्म पुग्छ र आवश्यकताअनुसार आफैं सिँचाइ हुन्छ,’ उनले भनिन्, ‘पानी पुगेपछि बन्द हुन्छ भने पानी अभाव देखिएपछि आफैं पुनः सिँचाई हुन्छ।’
उनले यो अन्य ठाउँमा प्रयोग भएको देखेर बनाएको नभई आफैंले नयाँ अवधारणासहित मेसिनको प्रोटोटाइप बनाएको जानकारी दिइन्। उनीहरूले यो प्रविधिको विकास अध्ययन क्रममा प्रयोगात्मक कार्य गर्दा गरेका हुन्। उनीहरूका अनसार यसमा जुनसुकै बेला विद्युत प्रयोग गरिरहन सकिन्छ भने यसमा सोलार जडान गरेर पनि सञ्चालन गर्न सकिन्छ।
यस प्रविधिमा दुई विशेषता रहेका छन, पहिलो माटो सुक्खा भएमा पानी हाल्ने र त्यो संगै यदि टंकिमा समेत पानी सकिएमा पुन: अर्काे टंकिबाट उक्त टंकिमा पानी जाने प्रविधि रहेको छ । साथै के भइरहेको छ र समयमा काम भएको छ या छैन भनी मोवाईलमा म्यासेज समेत जाने गर्छ भनी जानकारी दिए । जसबाट सामानले काम गरे नगरेको समेत जानकारी हुन्छ ।
तर, अहिले ब्याट्री प्रयोग गरेर यसको प्रोटोटाइप तयार गरेका छन्। जमिनको क्षेत्रफलअनुसार यसमा प्रयोग गर्ने ब्याट्री तथा विद्युतको मात्रा कायम गर्न सकिने उनीहरूको भनाइ छ।
यो एउटा प्रोटोटाइप भएका कारण यसलाई विकास गरी किसान तथा आवश्यक महसुस भएका मानिससम्म पुर्याउने सोच उनीहरूको छ। यो मेसिन किसानले पनि प्रयोग गर्न सक्ने लागतको हुने बनाइने उनीहरू बताउँछन्।
सरकार तथा अन्य कुनै माध्यमबाट आफूहरूलाई यसका लागि सहयोग हुन सके यसलाई विकास गरेर अन्य प्रविधिजस्तै बजार हुँदै किसानसम्म लैजाने इच्छा उनीहरूको छ।
न्यू होराईजन रोबोटिक्स डिपार्टमेन्ट को सहकार्यमा पहिलोपटक आयोजना गरेको उक्त फेस्टिभलमा उनीहरूले स्वचालित सिँचाइ प्रणलीको प्रोटोटाइप प्रदर्शन गरेका थिए।
विद्यालयका अनुसार विद्यार्थीले विकास गरेको यो अवधारणाबाट घरमा सानो बगैंचादेखि व्यावसायिक खेती गर्नेसम्मका लागि प्रयोग गर्न सकिने छ।
न्यू होराईजन आवासिय माध्यमिक विद्यालय विज्ञान तथा व्यवस्थापन समुहमा कम्प्युटर विषय पढ्न इच्छुक एक अति उत्तम गन्तव्यको रुपमा देखियो । विद्यालयले एक छुट्टै सुविधा सम्पन्न कम्प्युटर ल्याव र छुट्टै रोवोटिक्स ल्याव निर्माण गरि विद्यार्थीलाई यस किसिमको अत्यावश्यक अतिरिक्त ज्ञान सिप दिंदै आएको पाइयो ।